सहारा नेपालले कोरोना प्रभावितलाई दियो १,९३,४६,०००
बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना कोरोनाबाट प्रभावित भएका सदस्य तथा तिनका परिवारलाई नगद सहयोग हस्तान्तरण गरेको छ । साकोसले मंगलबार एक कार्यक्रमका बिच एक करोड ९३ लाख ४६ हजार रुपैँया सहयोग रकम हस्तान्तरण गरेको हो ।
संस्थाले मंगलबार बिर्तामोडस्थित सिटीसेन्टरमा एक कार्यक्रम आयोजना गरी कोभिड सहायता कार्यक्रम २०७८ अन्तर्गत सदस्यहरुलाई रकम हस्तान्तरण गरेको छ । साकोसले कोरोना पोजिटिभ भएर होम आइसोलेनमा बसेका ९ सय ७८ जना सदस्यलाई प्रति दिन ५०० रुपैँयाका दरले १४ दिनको एकमुष्ठ ७ हजार रुपैँयाका हिसाबले ६८ लाख ४६ हजार रुपैँया हस्तान्तरण गरेको प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले जानकारी दिए । उनका अनुसार साकोसले कोरोनाबाट गम्भिर भई अस्पताल भर्ना भएका ३९ जना सदस्यलाई ५२ लाख रुपैँया प्रदान गरेको छ । कोरोना संक्रमणबाट मृत्यु भएका १४ जना सदस्यको परिवारलाई परिवार राहत बापत २७ लाख रुपैँया उपलब्ध गराएको संस्थाले जनाएको छ । त्यस्तै कोरोना संक्रमण भइ होम आइसोलेनमा बसेका २ हजार ३०० जनालाई घरमा नै गएर यस अघि नै प्रति सदस्य दुई हजार रुपैँया बराबरका दरले ४६ लाख रुपैँयाको पोषण सामाग्री प्रदान गरिएको गिरीले बताए । साकोसले एकका लागि एक अभियानसँगको सहकार्यमा झापामा अक्सिजन बैंँकको स्थापना गरी सदस्यहरुलाई सेवा पुर्याएको जनाएको छ ।
अधिकृत गिरीले सहाराले प्रदान गरेको राहत ठूलो नभएको तर साकोस सदस्यहरु सँगसँगै छ भन्ने आभाष दिलाउन खोजेको बताए । उनले सहाराको गतिविधीलाई नियालेर सहि मार्गदर्शनका लागि सुझाव दिन सबैलाई आग्रह गरे । कार्यक्रममा फिजिसियन डाक्टर शरद भट्टराईले कोभिडका बिषयमा आफ्ना भनाई राखेका थिए । कोभिड सहायता प्राप्त गर्नेहरु मध्ये गोपाल संग्रौलाले सहाराको कार्यको प्रशंसा गर्दै आगामी दिनमा समेत सदस्यहरुलाई सहयोग पुग्ने कार्य गर्न सुझाए ।