ओमिक्रोन फैलिएसँगै पूर्वी नाकामा थप कडाई
बिर्तामोड । कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन छिमेकी मुलुक भारत लगायतका देशहरुमा तीब्र गतिमा फैलिएसँगै पूर्वी नाका काँकरभिट्टा र भद्रपुरमा थप कडाई गरिएको छ । ती नाकाहुँदै नेपाल प्रवेश गर्ने मानिसको स्वास्थ्य सुरक्षामा थप कडाई गरिएको हो ।
नेपाल प्रवेश गर्ने मानिसलाई खोप कार्ड वा ७२ घण्टा भित्रको पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ । यी दुवै कागजात नभएका तर नेपाली परिचय पत्र भएकालाई नाकामै रहेको हेल्थ डेस्कमा एन्टिजेन परिक्षणको व्यवस्था मिलाइएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए । सरकारले नेपाल प्रवेशमा रोक लगाएका देशका नागरिकहरु नेपाल प्रवेश नगरुन भनेर परिचय पत्र अनिवार्य गरिएको छ । परिचय पत्र नभएको र सुरक्षा मापदण्ड नअपनाएका मानिसलाई नाकाबाटै फर्काइने उनले बताए ।

आवतजावत गर्ने मानिसको तथ्याङ्क राख्न तथा स्वास्थ्य मापदण्ड अपनाउनका लागि नेपाल रेडक्रस सोसाइटी र जिल्ला स्वास्थ्य कार्यालयले कर्मचारी खटाएको छ । खोप कार्ड तथा पिसिआर रिपोर्ट नभएका नेपालीहरुको एन्टिजेन तथा शंका लागेकाहरुको मलेरिया समेत जाँच हेल्थ डेस्कले गर्ने अहेव दिव्या भट्टराईले जानकारी दिइन् । रिपोर्ट पोजेटिभ आएकाहरुलाई सम्बन्धित वडाको वडाध्यक्षसँग समन्वय गरि होम आइसोलेसनमा पठाइने उनले बताइन् । उनका अनुसार विहिबार ३ जना र शुक्रबार एकजनामा कोरोना पोजिटिभ देखिएको छ । ओमिक्रोन भेरिएन्टको जाँचका लागि पनि हेल्थ डेस्कमा तयारी भइरहेको उनले जानकारी दिइन् ।
रेडक्रसका स्वयमसेवकहरुले स्वास्थ्य मापदण्ड अपनाउन सहयोग गर्ने गरेको लक्ष्मी खत्रीले जानकारी दिइन् । अनिवार्य मास्क लगाउन तथा सेनिटाइजर प्रयोग गर्न यात्रुहरुलाई प्रेरित गर्ने गरेको स्वयम्सेवक खत्रीको भनाई छ । रेडक्रसले नाकामा निःशुल्क मास्क समेत वितरण गर्दै आएको छ । नाकाबाट सीमापारीको बजार पानी ट्याङ्कीमा सामान खरिद गर्न जाने स्थानीय बाहेक दैनिक हजारौँ मानिस काँकरभिट्टा नाकाबाट नेपाल प्रवेश गर्ने खत्रीले बताइन् ।