होल्डिङ्ग सेन्टर निर्माणको काम ७५ प्रतिशत सम्पन्न
बिर्तामोड । झापाको मेचीनगरमा निर्माणाधिन होल्डिङ्ग सेन्टरको काम उल्लेखनीय रुपमा अघि बढेको छ । संरचना निर्माणको हिसाबले ७५ प्रतिशत काम सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।
कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन नेपालमा समेत फेला परेपछि यसको त्रास बढेको छ । ओमिक्रोनको भय बढेसँगै होल्डिङ्ग सेन्टर निर्माणको कामलाई चासोका साथ लिइएको छ ।
मेचीनगर १४ दुवागढीमा ४ विगाह क्षेत्रफलमा ललितपुर २५ को हनुमान कन्स्ट्रक्सनले गत असारबाट निर्माण गरिरहेको होल्डिङ्ग सेन्टरमा २२ वटा घर हुने निर्माण कम्पनीका साइट मेनेजर जागृत चौरेलले जानकारी दिए । प्रत्येक घरसँगै एउटा शौचालय र १५ वटा भान्साघर गरी जम्मा ५९ वटा संरचना हुने चौरेलले बताए । चौरेलका अनुसार हालसम्म १७ वटा घर, १७ वटा शौचालय र १२ वटा भान्साघर गरी ४६ वटा संरचना निर्माणको काम सम्पन्न भएको छ ।

बाँकी रहेको १३ वटा संरचनामा छाना हाल्ने तथा भुइँ ढलानका काम सकिएको र बोर्ड लगाउनमात्र बाँकी रहेको साइट इन्चार्ज सविन भट्टराईले जानकारी दिए ।
नेपाली सेनाको समन्वय र सहजीकरणमा निर्माण भइरहेको होल्डिङ्ग सेन्टर पुष मसान्तसम्म सक्ने लक्ष्य रहेको साइट मेनेजर चौरेलले बताए । समयमा रकम निकासा भए तोकिएको समयावधिमा निर्माण पूरा हुने उनको भनाई छ । सेन्टरको लागत भ्याट बाहेक २५ करोड १ लाख ६३ हजार रहेको उनले जानकारी दिए । आवश्यक परे पुष १५ सम्ममा ३०० जना बस्नमिल्ने गरी संरचना निर्माणको काम भइरहेको चौरेलको भनाई छ ।
छिमेकी मुलुक भारतसँगै नेपालमा समेत ओमिक्रोन भेरिएन्ट देखा परेको र खुला सीमा भएका कारण नेपालमा संक्रमणको लहर चल्न सक्ने भएकाले होल्डिङ्ग सेन्टर समयमा सम्पन्न गर्न निर्माण कम्पनीलाई अनुरोध गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सीनाले जानकारी दिए । निर्माण कम्पनीलाई केहि समस्या भए भन्न तर काम नरोक्न भनिएको उनले बताए ।
झापा भारतसँग सिमाना जोडिएको जिल्ला भएकाले कोरोना संक्रमणको समयमा भारतबाट नेपाल आउने ब्यक्तिहरुको स्क्रीनिङ गरि सम्बन्धित पालिकासम्म सुरक्षित ढंगबाट पुर्याउन होल्डिङ्ग सेन्टरको निर्माण अगाडी बढाइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार होल्डिङ्ग सेन्टर एक हजार जना क्षमताको हुनेछ । रोजगारी, अध्ययन, उपचार लगायत विभिन्न कारणले भारत गएका नेपाली नागरिकहरुलाई महामारीको समयमा झापामा काकरभिट्टा नाकाबाट नेपाल प्रबेश गर्न दिइदै आएको छ । यसरी नेपाल आएका मानिसहरुको स्वास्थ्य परिक्षण गरिने, नेगेटिभ रिपोर्ट आएकाहरुलाई सम्बन्धित पालिकाहरुसँगको समन्वयमा सवारीसाधन ब्यवस्थापन गरि गन्तब्यसम्म पठाउने र पोजिटिभ देखिएकाहरुलाई छुट्टै आइसोलेसन सेन्टरमा पठाउने काम होल्डिङ्ग सेन्टरबाट हुने उनको भनाई छ ।
होल्डिङ्ग सेन्टर निर्माणमा नेपाली सेनाको चारआलीस्थित श्री नयाँ श्रीनाथ गणले सहजीकरण गरिरहेको गणपति कर्णेल अमरजङ्ग थापाले जानकारी दिए । होल्डिङ्ग सेन्टर निर्माण सम्पन्न भएपश्चात त्यसको ब्यवस्थापन नेपाली सेनाले गर्नेछ । होल्डिङ्ग सेन्टरका २२ वटा घरहरु मध्ये दुईवटा घरमा मेडिकल टिम रहने र बाँकी घरहरुमा सामाजिक र भौतिक दुरी कायम गरि मानिसहरु राखिने कर्णेल थापाले बताए ।
प्रिफ्याब प्रविधिबाट निर्माण भइरहेको प्रत्येक घरको लम्बाई १७७=५ फिट र चौडाइ १९=५ फिट हुने निर्माण कम्पनीले जनाएको छ । मेचीनगरको बसपार्क क्षेत्रमा यस अघिनै निर्माण गरिने भनिएको होल्डिङ्ग सेन्टरको लागि क्षेत्रफल अपुग भएकाले नयाँ स्थान पहिचान होल्डिङ्ग सेन्टर निर्माण गरिएको हो ।
कोरोनाको अघिल्लो लहरमा नेपाली सेनाले आफैँ अस्थायी होल्डिङ्ग सेन्टर निर्माण गरेको थियो । हाल निर्माण भइरहेको होल्डिङ्ग सेन्टर भविष्यलाई समेत हुने गरी निर्माण भइरहेको छ । सरकारले भारतसँग सीमा जोडिएका तराईका आठ स्थानमा होल्डिङ्ग सेन्टर निर्माण गरिरहेको छ ।