जिल्लाको ‘पर्यटन प्रबर्द्धन’मा निस्किए इलामेली
बिर्तामोड । इलाम जिल्लाको पर्यटन प्रबर्द्धनका लागि ‘घुम्न जाऔँ इलाम’ अभियान शुरु गरिएको छ । विभिन्न संघसंस्थाहरुको प्रतिनिधी सहभागी टोली जिल्लाको पर्यटन प्रबर्द्धनका लागि प्रचारमा निस्किएको हो ।
इलाम झापा मैत्री समाजसँगको अन्तरक्रियामा बोल्दै अभियानमा सहभागी इलाम नगरपालिकाका प्रमुख केदार थापाले जिल्लाको पर्यटन प्रबर्द्धनका लागि सम्पूर्ण इलामेलीहरु आ–आफ्नो ठाउँबाट लागिपर्न आग्रह गरे । अभियानको क्रममा इलामको पर्यटन प्रबर्द्धनका लागि नेपाल तथा भारतका विभिन्न संघसंस्थाहरुसँग छलफल तथा अन्तरक्रिया गर्ने नगरप्रमुख थापाले बताए । पर्यटनमार्फत इलामको आर्थिक गतिविधीलाई चलायमान बनाउँदै चौतर्फी विकास गर्नुपर्ने उनको भनाई थियो । कोरोना संक्रमण पश्चात पर्यटकको संख्या घटेको थापाले बताए । उनले आतिथ्यका लागि इलाम झापा मैत्री समाजलाई धन्यवाद दिए ।
विहीबार नै अभियान टोलीले काँकरभिट्टा र भारत सिलिगुढीमा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको टोलीमा सहभागी होटल व्यवसायी संघ इलामका अध्यक्ष देवी पौडेलले जानकारी दिए । उनले भारतको ग्यान्टोकसम्म पुगेर इलामको प्रचारप्रसार गरिने बताए । कार्यक्रम चार दिनको रहेको होटल व्यवसायी प्रकाश चापागाईले जानकारी दिए । अभियानमा दुई दर्जन प्रतिनिधी सहभागी रहेका छन् ।
अभियानमा इलाम पर्यटन प्रबर्द्धन सरोकार समिति, होटल व्यवसायी संघ इलाम, इलाम उद्योग वाणिज्य संघ इलाम, पर्यटन प्रबर्द्धन समिति इलाम र इलाम नगरपालिकाका प्रनिनिधीहरु सहभागी छन् ।
अन्तरक्रियामा बोल्दै होटल व्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठले पर्यटन प्रबर्द्धनका लागि पूर्वाधार विकास गर्नुपर्ने बताइन् । इलाम भन्ने वित्तिकै कन्याम र अन्तुलाई मात्र पर्यटकले बुझ्ने गरेकाले अन्य पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारमा लाग्नु पर्ने सुझाव दिइन् ।
इलाम झापा मैत्री समाजकी अध्यक्ष तिलोत्तमा खत्रीले इलामको पर्यटन प्रबर्द्धनका लागि समाज तयार रहेको बताइन् ।
कार्यक्रममा इलाम झापा मैत्री समाजका पूर्व अध्यक्ष श्याम खड्गी, उपाध्यक्ष नरेश कर्माचार्य, महासचिव दिनेश भट्टराई, कोषाध्यक्ष सीता मगर न्यौपाने, सचिव सागर रिजाल, नगर अध्यक्ष अन्जु लामिछाने, सचिव मिलन कोइराला, इलामको पर्यटन क्षेत्रमा लामो समय काम गरेका सुनगाभा विकास संस्थाका पूर्व अध्यक्ष खिवराज दाहाललगायत इलामबाट झापा आएर बस्ने मानिसहरुको बाक्लो उपस्थिती रहेको थियो ।