क्रेता र बिक्रेताको सहजकर्ता ‘यहाँ छ’को वेबसाइट सार्वजनिक
बिर्तामोड । प्रविधिको युगमा सेवा खरिद गर्न चाहने र सीप बिक्री गर्न चाहनेका लागि फ्रिल्यान्सिङ प्लेटफर्म ‘यहाँ छ’कोे वेबसाइट सार्वजनिक गरिएको छ ।
रुट डेभ्स सफ्टवेयर डेभलपमेन्ट प्रालिले काम गर्न चाहने जनशक्ति र काम गराउन चाहने व्यक्ति तथा संस्थाहरु बिच सहजीकरण गर्ने उद्धेश्यले स्थापित फ्रिल्यान्सिङ प्लेटफर्मको ‘यहाँ छ’ वेटसाइट सोमबार होटल किङ्स्बेरीमा सार्वजनिक गरेको हो । यहाँ छ मार्फत सेवा खरिद बिक्री गर्न सकिनेछ ।
सीपयुक्त युवाहरुले काम गर्न नपाउने र काम गराउन चाहने व्यक्ति तथा संस्थाले भनेजस्तो दक्ष जनशक्ति नपाउने समस्याको समाधान गर्न ‘यहाँ छ’को शुरुवात गरिएको कम्पनीका सञ्चालक मध्येका रविन थापाले जानकारी दिए । सबै किसिमका डिजिटल सेवा लिन चाहनेहरुका लागि सेवा उपलब्ध गराइने उनले बताए । यहाँ छ मार्फत दक्ष जनशक्तिलाई नेपालमै रोजगारी दिन सकिने र आफ्नो समयमा काम गर्न सकिने उनले बताए । कम्पनीले केहि दिन भित्रै यहाँ छ को एप्स समेत सार्वजनिक गर्ने जनाएको छ ।
यहाँ छ ले सेवा खरिद गर्न चाहनेहरुका लागि दक्ष जनशक्ति उपलब्ध गराउने, अग्रिम भुक्तानी लिने र सेवा उपलब्ध गराएपश्चात मात्र सेवा प्रदायकलाई भुक्तानी दिइने भएकाले काम गर्न चाहनेले भुक्तानी नपाइने हो कि भन्ने समस्या र सेवा लिन चाहनेलाई गुणस्तरीय काम नहुने हो कि भन्ने समस्या नहुने बताइएको छ । कम्पनीले भुक्तानीका लागि खल्तीसँग सम्झौता गरेको कम्पनीले जनाएको छ ।
कार्यक्रमको बिर्तामोड नगर प्रमुख पवित्रादेवि महतारा प्रसाईले उद्घाटन गरेकी थिइन् । कार्यक्रममा रुट डेभ्सलाई यहाँसम्म आउन विविध क्षेत्रमा सहयोग पुर्याएको भन्दै युवा व्यवसायी पदम श्रेष्ठलाई सम्मान गरिएको थियो ।
प्लेटफर्मका सञ्चालक रविन थापा, योगेश भण्डारी, नवीन कार्की, गोपाल पौडेल र कुमार चापागाई रहेका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, बिर्तामोड वडा नम्बर ३ का वडाध्यक्ष मदन बुढाथोकी, अर्जुनधारा ११ का वडाध्यक्ष खगेन्द्र इङ्गनाम, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, सिम्रिक साकोसका अध्यक्ष सुवास भट्टराई, रुट डेभ्स बंगलादेशका कार्यकारी प्रमुख मोहम्मद इलास लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कम्पनीका सल्लाहकार रवी चापागाँईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कम्पनीका नविन भण्डारीले गरेका थिए ।