२०८२ चैत्र २२ गते , आईतबार

झापा गोल्ड कपको उद्घाटन खेल आज, आयोजक झापा ११ र नेपाल पुलिस भिड्दै

sajilo news
परिवेश मिडिया
२०८२ माघ २४ गते , शनिबार
झापा गोल्ड कपको उद्घाटन खेल आज, आयोजक झापा ११ र नेपाल पुलिस भिड्दै

बिर्तामोड । सातौँ संस्करणको झापा गोल्डकप आजबाट सुरु हुँदैछ । आज हुने उद्घाटन खेलमा आयोजक झापा ११ फुटबल क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ । 
विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सञ्चालन हुने फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ ।
‘एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’का रूपमा आयोजना गरिने झापा गोल्डकपका अध्यक्ष केदार गिरीले बताए ।
मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिताको रूपमा चिनिएको प्रतियोगिताको विजेताले नगद १५ लाख रुपैयाँ र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
त्यस्तै उत्कृष्ट खेलाडी (मस्ट भ्यालुएबल प्लेयर) लाई मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ ।
यसैगरी सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई २१ हजार रुपैयाँ प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
विधागत पुरस्कारको प्रायोजन अमेरिका निवासी रोशनलाल श्रेष्ठसहितको टोलीले गरेको छ ।
प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, मछिन्द्र क्लब, चर्च ब्वाइज,लालीगुँरास क्लब पोखरा, रोयल थिम्पु कलेज भुटान, सिंग्लिङ स्पोर्ट क्लब भारत, एन पेनाङ फुटबल क्लब मलेसिया र आयोजक टिम झापा ११ सहित स्वदेशी र विदेशी गरी १० वटा टोलीको सहभागिता रहनेछ ।
२०७२ सालदेखि झापालाई फुटबल हबका रूपमा विकास गर्ने लक्ष्यसहित प्रतियोगिता सञ्चालन हुँदै आएको छ । पूर्वी नेपालका फुटबलप्रेमी दर्शकमाझ लोकप्रिय मानिने प्रतियोगिता प्रत्यक्ष प्रसारणमार्फत देश तथा विदेशका दर्शकले अवलोकन गर्दै आएका छन् । भरिभराउ रंगशाला, अनुशासित दर्शक संस्कृति र प्रतिस्पर्धात्मक खेलस्तर प्रतियोगिताको विशेषता रहने आयोजकको विश्वास छ ।
यस वर्ष झापाका एक जना पुराना फुटबल खेलाडीलाई नगद २५ हजारसहित सम्मान गरिने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार