आजबाट नेपालको विश्वकप यात्रा सुरु
झापा । आईसीसी टी–२० विश्वकपको तेस्रो सहभागिताको औपचारिक सुरुवात नेपालले आजबाट गर्दैछ। भारत र श्रीलंकामा जारी टी–२० विश्वकपमा आफ्नो पहिलो खेलमा नेपालले बलियो टेस्ट टोली इंग्ल्यान्डसँग समूह ‘सी’ को दोस्रो खेलमा प्रतिस्पर्धा गर्दैछ। यसअघि यही समूहको पहिलो खेलमा वेस्टइन्डिजले स्कटल्यान्डलाई पराजित गरेको थियो।
शनिबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिन तीन खेल सम्पन्न भएका थिए, जहाँ एसोसिएटेड टोलीहरूले टेस्ट टोलीमाथि दबाब सिर्जना गरे पनि जित भने निकाल्न सकेनन्। नेदरल्यान्ड्सले पाकिस्तान, स्कटल्यान्डले वेस्टइन्डिज तथा अमेरिकाले भारतविरुद्ध प्रदर्शन गर्दै आफूहरू बलियो रहेको सन्देश दिए पनि सनसनीपूर्ण नतिजा निकाल्नबाट टोलीहरू असफल रहे।
दिउँसो ३:१५ बजे मुम्बईको वानखेडे मैदानमा सुरु हुने खेलमा नेपाल आफूलाई प्रतिस्पर्धात्मक टोलीका रूपमा इंग्ल्यान्डविरुद्ध मैदानमा उतार्ने तयारीमा रहनेछ। त्यसो त नेपाली टोलीले वार्मअप खेलमा दुवै जित निकाल्दै आत्मविश्वासी रहेको अवस्थामा इंग्ल्यान्डलाई कडा चुनौती दिने विश्वास गरिएको छ।
अर्कोतर्फ इंग्ल्यान्डको अस्थिर फर्म र तुलनात्मक रूपमा कमजोर टोलीसँग व्यहोरेको हारले समेत नेपालले ‘सरप्राइज’ नतिजा निकाल्न सक्ने विश्वास गरिएको छ। तेस्रो विश्वकपसम्मको अभियानमा नेपाल कम्तीमा सुपर ८ सम्म पुग्नका लागि पनि आफूलाई सोहीअनुसार प्रतिस्पर्धामा उतार्नुपर्ने चुनौती रहेको छ।
यदि नेपालले शीर्ष ८ मा पुग्ने हो भने समूह चरणका ४ मध्ये कम्तीमा २ खेल जित्नुपर्नेछ, साथै अन्य टिमको प्रदर्शन पनि महत्वपूर्ण हुनेछ। त्यसैले नेपाल आफ्नो उच्च मिसनलाई लक्ष्यमा पुर्याउनका लागि इंग्ल्यान्डसँगको खेल नै महत्वपूर्ण हुनेछ।
नेपाल र इंग्ल्यान्ड हालसम्म टी–२० अन्तर्राष्ट्रियमा कहिल्यै पनि प्रतिस्पर्धा गरेका छैनन्। त्यसो त टेस्ट टोलीविरुद्ध नेपालले वेस्टइन्डिज टोलीसँग शृंखला खेलेको थियो, तर कुनै पनि अन्य टोलीविरुद्ध यस्तो मौका पाएको छैन ।
इंग्ल्यान्डले विश्वकपअघि श्रीलंकासँगको टी–२० अन्तर्राष्ट्रिय शृंखला जितेर मुम्बई आइपुगेकाले स्वाभाविक रूपमा आफ्नो दाबेदारी पहिलो खेलबाटै प्रस्तुत गर्ने प्रयास गर्नेछ । नेपाल टी–२० विश्वकपमा १२ वर्षपछि पहिलो जितको खोजीमा मैदान उत्रिँदै गर्दा उपाधि दाबेदार इंग्ल्यान्ड भने स्वाभाविक रूपमा आफ्नो लयलाई निरन्तरता दिने प्रयासमा हुनेछ।
नेपालका कप्तान रोहित पौडेलले इंग्ल्यान्डसँग खेल्दा गाह्रो हुने भए पनि टिमले सतप्रतिशत दिएर खेल्ने बताएका छन् । उनले यसपटक सुपर ८ मा पुग्ने गरी तयारी गरेको भन्दै सुरुवातबाटै उक्त लक्ष्य पछ्याउने आफ्नो प्रयास रहने बताए । इंग्ल्यान्डका अलराउन्डर विल ज्याक्सले नेपाललाई कमजोर प्रतिद्वन्द्वीका रूपमा नलिने भन्दै नेपालसँगको खेल अन्य टिमसँगको जस्तै महत्वपूर्ण रहने बताए ।