२०८३ बैशाख ९ गते , बुधबार

विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवालाबीच अन्तरक्रिया

sajilo news
परिवेश मिडिया
२०८३ बैशाख ८ गते , मंगलबार
विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवालाबीच अन्तरक्रिया

बिर्तामोड । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यार्थी, अभिभावक, शिक्षक तथा सरकार सबैको भूमिका महत्वपूर्ण हुने बिर्तामोड १० मा आयोजित एक कार्यक्रममा सहभागीहरुले बताएका छन् ।
साझा पुस्ता नेपालको आयोजना तथा विर्तामोड नगरपालिका वडा नं. १० को सहयोग र समन्वयमा बिर्तामोड १० मा आयोजित विद्यालयमा आमा अभिभावक (आमा) कार्यक्रममा सहभागी विद्यार्थीहरुले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवालाको भूमिकाबारे औंल्याएका हुन् ।
कार्यक्रममा सहभागी विद्यार्थीहरुले अभिभावकदेखि जनप्रतिनिधिहरुसम्मले शैक्षिक गुणस्तर सुधारका लागि निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा धारणा राखेका थिए ।
छलफलमा सहभागी विद्यार्थीले अभिभावकले बालबालिकालाई उत्प्रेरित गर्नुपर्ने,  बालबालिकाको भावना बुझेर सोही अनुसार अघि बढ्न सहयोग गर्नुपर्ने, अरुसंग तुलना गरेर निरुत्साहित गर्न नहुने, पारिवारिक माया, घरमा पनि पठनपाठनको वातावरण हुनुपर्नेमा जोड दिएका छन् । बुबा आमाले बालबच्चाको निगरानी गर्नुपर्ने, आफूले नजानेको कुरा सिकाई दिने, होमवर्क (गृहकार्य) दिएको छ की छैन ? दिएको होमवर्क गरेको छ कि छैन ? जस्ता कुरालाई अभिभावकले चासो राख्नु पर्ने उनीहरुको धारणा थियो ।
त्यसैगरी विद्यालयमा शिक्षकले बुझाएर पढाउनुपर्ने, नबुझेको सोध्दा नझर्की सिकाउनुपर्ने, विद्यार्थी अनुशासनमा छ कि छैन ? पढाईबाहेक विद्यार्थीको अन्य क्षमताको पनि मूल्याङ्कन गरिनुपर्ने, पढाई बाहेकको क्षमता प्रस्फुटनको वातावरण बनाउने तथा अन्यत्र हुने प्रतिष्पर्धामा पनि सहभागी गराउनुपर्ने, बिद्यार्थीको संगत र व्यवहारबारे अभिभावकलाई जानकारी दिनुपर्ने जस्ता जिम्मेवारी औल्याएका विद्यार्थीले आफन्त तथा छरछिमेकबाट भने बालबच्चाको रुचीको सम्मान गर्दै अघि बढ्न प्रेरित गर्ने, सकारात्मक सोच राखेर हौसला दिनुपर्नेमा जोड दिएका छन् ।
त्यसैगरी राज्य (जनप्रतिनिधी, बिद्यालय व्यवस्थापन समिति) का तर्फबाट विद्यालय पुग्ने बाटोको अवस्था कस्तो छ ? विद्यालयमा कस्तो खाजा खुवाईरहेका छन्, पानीको अवस्था कस्तो छ ? विषय शिक्षकले समयमा पढाइरहेको छ कि छैन ? विद्यार्थी विद्यालय पोशाकमा स्कूल गएका छन् कि छैनन् ? स्कूलभित्र कुनै किसिमको लैंगिक, जातीय, धार्मिक विभेद छ कि छैन ? जस्ता विषयहरुमा निरन्तर अनुगमन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा नं. १० का वडाध्यक्ष दुर्योधन गुरुङले उद्घाटन गर्नुभएको कार्यक्रम अन्तरगत बुधबार विद्यालयसंग सरोकार राख्ने, अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति, टोल विकास संस्थाका प्रतिनिधि, शिक्षक अभिभावक संघका अध्यक्ष लगायतको सहभागितामा शैक्षिक गुणस्तर सुधारबारे अन्तरक्रिया हुनेछ ।
इन्दु पूर्वेलीले सञ्चालन गरेको कार्यक्रममा स्वागत रेखा अधिकारीले गरेकी थिइन् । लता खरेलले सहजीकरण गरेकोे अन्तरक्रियात्मक गोष्ठी उद्घाटन सत्रको अध्यक्षता रेजिना गौतमले गर्नुभएकी थिइन् ।

सम्बन्धित समाचार