आफ्नो दलको विष पनि अमृत, अर्काको अमृतपनि विष : विवेकको संकटमा नागरिक चेतना
नेपालको राजनीति आज एउटा चुनौतीपूर्ण मोडमा उभिएको छ । एकातिर नयाँ सरकार बनेको छ, जसले संसदमा बलियो समर्थन प्राप्त गरेको छ । अर्कोतिर, केही नयाँ अनुहार र युवा नेतृत्वले परिवर्तनको आशा जगाउने प्रयास गरिरहेका छन् । यसअघि पनि विभिन्न सरकारहरू आए, गए, धेरै राम्रा काम गरे, केही कमजोरी पनि रहे। तर आजको सबैभन्दा ठूलो प्रश्न सरकार, दल वा नेताको मात्र होइन; प्रश्न नागरिक चेतनाको हो ।
हामीले प्रायः देख्ने एउटा प्रवृत्ति छ — आफ्नो पक्षको नेता वा दलले जे गरे पनि सही देख्ने, र आफूलाई मन नपर्ने पक्षले जे गरे पनि गलत देख्ने । यो प्रवृत्ति लोकतन्त्रका लागि सबैभन्दा खतरनाक रोगमध्ये एक हो । किनकि लोकतन्त्रको शक्ति नेतामा भन्दा बढी नागरिकको विवेकमा निर्भर हुन्छ । समर्थन र विरोधको बीचमा हराउँदै गएको विवेक कुनै व्यक्ति, दल वा विचारधाराप्रति आकर्षण हुनु स्वाभाविक पनि हो । हरेक नागरिकको आफ्नो राजनीतिक दृष्टिकोण हुन्छ । तर समस्या त्यतिबेला सुरु हुन्छ जब त्यो दृष्टिकोण अन्धभक्तिमा बदलिन्छ । यदि आफूले समर्थन गरेको दलले राम्रो काम गरिरहेको छैन भने पनि उसको बचाउ मात्र गर्ने, र यदि आफूले मन नपराएको दलले राम्रो काम गरिरहेको छ भने पनि त्यसलाई स्वीकार गर्न नसक्ने प्रवृत्ति बढ्दै गयो भने समाज सत्यतथ्यले भन्दा भावनाले चल्न थाल्छ । कतिपय मानिसहरू पुरानो सरकारको कुनै उपलब्धि स्वीकार्न तयार हुँदैनन् । उनीहरूलाई लाग्छ, ‘हाम्रा विपक्षीले राम्रो काम गर्नै सक्दैनन् ।’ अर्कोतिर, केही मानिसहरू नयाँ नेतृत्वले काम सुरु गर्न नपाउँदै असफलताको घोषणा गरिदिन्छन् । उनीहरूलाई लाग्छ, ‘यीबाट केही हुनेवाला छैन ।’
यी दुवै दृष्टिकोण मेरो बिचारमा गलत छन् । किनकि मूल्याङ्कन तथ्यका आधारमा हुनुपर्छ पूर्वाग्रहका आधारमा होइन । लोकतन्त्रमा आलोचना पनि आवश्यक छ, प्रशंसा पनि । कुनै पनि सरकार पूर्ण रूपमा राम्रो वा पूर्ण रूपमा खराब हुँदैन । हरेक शासनकालमा सकारात्मक र नकारात्मक दुवै पक्ष हुन्छन् । यदि कुनै सरकारले सडक बनायो भने त्यसको प्रशंसा गर्नुपर्छ । यदि त्यही सरकारले भ्रष्टाचार रोक्न सकेन भने त्यसको आलोचना गर्नुपर्छ । यही नै लोकतान्त्रिक चेतना हो ।
तर हाम्रो समाजमा धेरैजसो मानिसहरू दुई समूहमा विभाजित देखिन्छन् । पहिलो समूहले आफ्ना नेताको गल्ती देख्नै चाहँदैन । दोस्रो समूहले विपक्षीको राम्रो काम स्वीकार्नै चाहँदैन । यस्तो अवस्थामा सत्य बीचमै हराउछ । असल नागरिक भनेको न त अन्धसमर्थक हो, न त अन्धविरोधी । असल नागरिक त्यो हो जसले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्ने साहस राख्छ ।
नयाँलाई अवसर, पुरानोलाई न्याय नयाँ नेतृत्व आएपछि उसलाई काम गर्ने अवसर दिनु लोकतान्त्रिक संस्कार हो । कुनै पनि व्यक्ति वा समूहले जादुको छडी बोकेर शासनमा प्रवेश गर्दैन । योजना बनाउन, नीति लागू गर्न र परिणाम दिन समय लाग्छ । त्यसैले काम सुरु गर्न नपाउँदै कसैलाई असफल घोषणा गर्नु न्यायसंगत हुँदैन ।
त्यसैगरी, अघिल्लो सरकारले गरेका राम्रा कामलाई पूर्ण रूपमा अस्वीकार गर्नु पनि उचित होइन । विकासका धेरै योजनाहरू कुनै एक सरकारको मात्र उपलब्धि हुँदैनन् । ती वर्षौंको निरन्तर प्रयासको परिणाम हुन्छन् ।
यदि पुरानो सरकारले केही राम्रो गरेको थियो भने त्यसलाई स्वीकार गर्न सक्नुपर्छ।राजनीतिक परिपक्वता भनेको यही हो—व्यक्तिभन्दा कामलाई महत्व दिनु ।
आज भोली सामाजिक सञ्जालले सूचना फैलाउन सजिलो बनाएको छ । तर यसले एउटा समस्या पनि जन्माएको छ—तथ्यभन्दा भावनाको व्यापार ।
कुनै नेताको पक्षमा एउटा पोस्ट आयो भने सयौं मानिस बिना जाँच समर्थनमा उत्रिन्छन् । अर्को थरी त्यतिकै बिरोधमा उत्रिएको देखिन्छ । धेरै मानिसहरूले कुनै समाचार सत्य हो कि होइन भनेर बुझ्ने प्रयास पनि गर्दैनन् । उनीहरू केवल आफूलाई मनपर्ने कथन खोज्छन् र त्यही पोस्ट गर्छन् । यसले समाजलाई दुई ध्रुवमा विभाजित गरिरहेको छ भन्नेकुरा नकार्न सकिन्न । एक पक्षलाई आफ्नो नेता भगवान् जस्तो लाग्छ । अर्को पक्षलाई त्यही नेता राक्षस जस्तो लागिरहेको छ । यस्तो सोचले न त राष्ट्रलाई सवल बनाउन सक्छ नत नागरिकलाई नै ।
लोकतन्त्रमा सरकार मात्र जिम्मेवार हुँदैन, नागरिक पनि उत्तिकै जिम्मेवार हुन्छन् । यदि हामीले नेताको जात, क्षेत्र, पार्टी वा व्यक्तिगत आकर्षणका आधारमा मात्र निर्णय गर्न थाल्यौं भने योग्यताको मूल्य घट्छ । यदि हामीले कामभन्दा नारालाई महत्व दियौं भने परिणाम पनि नाराजस्तै खोक्रो हुन्छ । नागरिकले केही आधारभूत प्रश्न सोध्न सिक्नुपर्छ : सरकारले के काम गर्यो ? कुन वाचा पूरा गर्यो ? कुन क्षेत्रमा सुधार आयो ? कहाँ कमजोरी रह्यो ? तथ्य र प्रमाण के भन्छन् ? यी प्रश्नको उत्तर खोज्ने बानी नागरिकले बिकाश गर्न जरूरी देखिन्छ । व्यक्ति पूजा होइन, प्रणालीप्रति विश्वास राख्नु पर्छ । नेपालको राजनीतिमा अर्को ठूलो समस्या व्यक्ति पूजा हो । हामी धेरैजसो व्यक्ति केन्द्रित राजनीति गर्छौं । तर कुनै पनि देश व्यक्तिले होइन, संस्थाले चलाउँछ । बलियो न्यायपालिका, उत्तरदायी सरकार, सक्षम प्रशासन, स्वतन्त्र सञ्चार माध्यम र सचेत नागरिक नै समृद्ध राष्ट्रका आधार हुन् । त्यसैले व्यक्तिलाई देवता वा दानव बनाउने प्रवृत्तिबाट माथि उठ्नुपर्छ । व्यक्ति बदलिन्छन्, संस्था रहन्छन् ।
लोकतन्त्रको सुन्दरता विविधतामा एकता हो । सबैले एउटै कुरा सोच्नुपर्छ भन्ने होइन । कसैले सरकारको समर्थन गर्न सक्छ, कसैले विरोध गर्न सक्छ । दुवै अधिकार लोकतन्त्रले दिएको छ । तर फरक विचार राख्ने मानिसलाई शत्रु ठान्नु लोकतान्त्रिक संस्कार होइन ।
यदि कसैले सरकारको राम्रो कामको प्रशंसा गर्यो भने उसलाई ‘झोले’ भनेर गाली गर्नु गलत हो । त्यसैगरी कसैले कमजोरीको आलोचना गर्यो भने उसलाई शत्रु देख्नु पनि गलत हो । स्वस्थ समाजमा बहस हुन्छ, द्वेष हुँदैन । तर्क हुन्छ, अपमान हुँदैन । हरेक नागरिकले अमृतलाई अमृत र बिषलाई बिष भन्न सक्ने क्षमताको विकाश गर्न आट गर्नु पर्छ । आफूलाई मनपर्ने व्यक्तिले गल्ती गरे पनि त्यसलाई उपलब्धि जस्तो देख्ने र आफूलाई मन नपर्ने व्यक्तिले राम्रो काम गरे पनि त्यसलाई असफलता मान्ने प्रवृत्तिले राष्ट्रलाई अगाडि बढाउँदैन । यदि अमृतलाई पनि फोहोर भनिन्छ भने त्यो विवेकको हार हो । यदि फोहोरलाई केवल आफ्नो पक्षले ल्यायो भनेर अमृत भनिन्छ भने त्यो पनि विवेकको हार हो । राष्ट्र निर्माणको आधार यही हो कि हामी वस्तुलाई वस्तुका रूपमा हेर्न सकौं । राम्रोलाई स्वीकार गर्न सकौं । गलतलाई सच्याउन सकौं ।
अन्त्यमा, नेपाललाई आज अन्धसमर्थक र अन्धविरोधीभन्दा बढी विवेकी नागरिक चाहिएको छ । सरकार पुरानो होस् वा नयाँ, युवा होस् वा अनुभवी—मूल्याङ्कन कामका आधारमा हुनुपर्छ । प्रशंसा र आलोचना पनि तथ्यमा आधारित हुनुपर्छ । नयाँ नेतृत्वलाई काम गर्ने उचित समय र अवसर दिनुपर्छ । पुराना नेतृत्वका सकारात्मक योगदानलाई पनि निष्पक्ष रूपमा स्वीकार गर्नुपर्छ । लोकतन्त्रको शक्ति कुनै दल, नेता वा नारामा होइनस सत्यलाई स्वीकार गर्ने नागरिक चेतनामा हुन्छ । जब हामी आफूलाई मनपरेको व्यक्तिको गल्तीलाई पनि गल्ती भन्न सक्ने र आफूलाई मन नपरेको व्यक्तिको राम्रो कामलाई पनि राम्रो भन्न सक्ने हैसियतमा पुग्छौं, तब मात्र हामी वास्तविक लोकतान्त्रिक नागरिक बन्छौं । र, त्यो दिन नेपालमा राजनीति मात्र होइन, नागरिक चेतना पनि परिपक्व हुनेछ । लोकतन्त्रको वास्तविक विजय त्यही दिन हुनेछ ।
‘लोकतन्त्र तब बलियो बन्छ, जब नागरिकले दल होइन, सत्यको पक्ष लिन्छन् ।’