देउवा पक्षीय कांग्रेस झापाको सभापतिमा हुमागाईं चयन
बिर्तामोड । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षीय काँग्रेस झापाको सभापतिमा कृष्ण हुमागाईं चयन भएका छन् । विशेष महाधिवेशनको विरोध गर्दै १५औं नियमित महाधिवेशन माग गर्दै आएको देउवा पक्षको आज झापामा भएको जिल्ला अधिवेशनबाट कृष्ण हुमागाईं जिल्ला सभापतिमा चयन भएका छन् । बिर्तामोडको अग्रसेन भवनमा सम्पन्न जिल्ला अधिवेशनबाट हुमागाईं सभापतिमा चयन भएका हुन् ।
हुमागाईंले यस अघि कोशी प्रदेश सम्मेलन, राष्ट्रिय सम्मेलन, झापा जिल्ला अधिवेशन तयारी समिति र जिल्ला अधिवेशन आयोजक समितिको संयोजकको भूमिका निर्वाह गरिसकेका छन् ।
यस अघि नेपाली काँग्रेसको १४औ महाधिवेशन अन्तर्गत भएको जिल्ला अधिवेशनमा हुमागाईं झापा जिल्ला सचिवमा चयन भएका थिए । नेपाली कांग्रेसको १४औँ महाधिवेशनभन्दा अघिका कार्यकालहरुमा हुमागाईंले जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधि, पार्टीको जिल्ला प्रचार बिभाग प्रमुखको जिम्मेवारी पनि सम्हालिसकेका छन् ।
पत्रकारिताबाट राजनीतिमा उदाएका हुमागाईं नेता कृष्ण प्रसाद सिटौला निकट मानिन्छन् । उनी नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष भइसकेका छन् ।
नेपाल पत्रकार महासंघ झापा शाखाको सभापति, साप्ताहिक बिचार, रेडियो नेपाल, रासस, पूवर्न्चल दैनिक, लोकपत्र दैनिक, देशान्तर साप्ताहिक,झुल्केघाम, नयाँ सन्दर्भ, जय लोकतन्त्र साप्ताहिक, स्पेशटाइम्स दैनिक, अर्जुनधारा दैनिक लगायत विभिन्न संचार संस्थामा सम्वाददातादेखी प्रधनसम्पादकको जिम्मेवारी सम्हालिसकेका छन् ।