विर्तामोडमा १६ गतेदेखि १२–१८ उमेरका बालबालिकालाई मोडर्ना खोप लगाइने
बिर्तामोड । बिर्तामोड नगरपालिकाभित्रका १२-१८ उमेर समूहका बालबालिकालाई माघ १६ गतेदेखि कोरोना विरुद्धको मोडर्ना खोप लगाइने भएको छ ।
नगरभित्रका ३७ खोप केन्द्रमार्फत ६१ वटा विद्यालयका बालबालिकालाई उक्त खोप लगाइने भएको हो । नगरको स्वास्थ्य शाखाले सूचनामार्फत माघ १६ गतेदेखि २० गते ती केन्द्रमा खोप कार्यक्रम सञ्चालन गरिने जनाएको छ । यस अघि कोरोना विरुद्धको कुनैपनि खोप नलगाएका १२ बर्ष उमेर पूरा भएको र १८ बर्ष ननाघेका बालबालिकालाई मोडर्ना खोप लगाइने भएको छ ।
खोप लगाउन जाँदा उमेर खुल्ने कागजात (जन्मदर्ता) अनिवार्य लिएर जानु पर्ने, मास्क लगाउनुपर्ने जस्ता नियम सूचनामा उल्लेख गरिएको छ । खोप लगाउन आउनेहरुका लागि अध्ययनरत विद्यार्थीको हकमा शिक्षक प्रतिनिधी र विद्यालय बाहिरका बालबालिकाको हकमा अभिभावकको रोहबरमा मात्र खोप लगाइने नगरका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले बताए । कोरोना संक्रमण भएका बालबालिकाको हकमा निको भएको ३० दिन भएको हुनुपर्ने बताइएको छ ।


