२०८३ मंसीर ८ गते , मंगलबार

जीवन बिमा : प्रतिफलभन्दा माथि, जोखिम सुरक्षाको सशक्त आधार

sajilo news
परिवेश मिडिया
२०८३ मंसीर ८ गते , मंगलबार
जीवन बिमा : प्रतिफलभन्दा माथि, जोखिम सुरक्षाको सशक्त आधार

नेपालमा जीवन बिमाबारे आम नागरिकको बुझाइ अझै पनि पूर्ण र स्पष्ट हुन सकेको देखिँदैन। धेरैजसो मानिसले जीवन बिमा गर्नु भनेको निश्चित अवधिका लागि पैसा जम्मा गर्ने, त्यसमा बोनस थपिने र परिपक्वतापछि एकमुष्ट रकम प्राप्त गर्ने एउटा लगानी हो भन्ने मात्र बुझ्ने गरेको पाइन्छ।

यही अपूर्ण बुझाइका कारण बिमा अवधि पूरा भएपछि अपेक्षाअनुसार बोनस प्राप्त भएन भने कतिपय बिमितमा असन्तुष्टि पैदा हुने गरेको छ। कतिपय अवस्थामा त बिमा कम्पनीले ठग्यो, झुक्यायो वा प्रतिबद्धताअनुसार प्रतिफल दिएन भन्ने गुनासोसमेत सुनिन्छ।

तर यहाँ बुझ्नुपर्ने मूल कुरा के हो भने जीवन बिमा विशुद्ध प्रतिफल कमाउने लगानी मात्र होइन, यो त जीवनमा आइपर्न सक्ने गम्भीर आर्थिक जोखिमहरू बहन गर्ने एउटा सशक्त वित्तीय सुरक्षा कवच हो।

जीवन बिमाको मूल मर्म :  जोखिम बहन र आर्थिक सुरक्षा

मानिसको जीवन अनिश्चितताले भरिएको हुन्छ। आज स्वस्थ, सक्षम र आर्थिक रूपमा सक्रिय रहेको व्यक्ति भोलि दुर्घटनामा पर्न सक्छ, गम्भीर रोगबाट प्रभावित हुन सक्छ, स्थायी अशक्तताको अवस्थामा पुग्न सक्छ वा असामयिक मृत्यु हुन सक्छ।

यस्ता घटनाले व्यक्तिको शारीरिक अवस्थालाई मात्र होइन, उसको सम्पूर्ण परिवारको आर्थिक अवस्था र भविष्यलाई समेत प्रभावित गर्न सक्छन्।

यही अनिश्चिततालाई आर्थिक रूपमा सम्बोधन गर्ने माध्यम नै जीवन बिमा हो।

जीवन बिमाले सम्बन्धित बिमालेखमा समावेश सुविधा तथा सर्तअनुसार विभिन्न जोखिममा आर्थिक सुरक्षा प्रदान गर्न सक्छ। 

अशक्तता भएमा प्रिमियम छुट : दुर्घटना वा निर्धारित कारणले पूर्ण अशक्तता भएमा योजनामा यस्तो सुविधा समावेश रहेको अवस्थामा बाँकी अवधिको प्रिमियम तिर्नुपर्ने दायित्वबाट छुट प्राप्त हुन सक्छ।

मासिक अशक्तता भत्ता स् निर्धारित अवस्था र सर्त पूरा भएमा अशक्तताको समयमा मासिक आर्थिक सहायता प्राप्त हुन्छ।

घातक रोगको उपचार सुविधा : योजनामा समावेश गरिएका गम्भीर रोगहरू निर्धारित अवधिभित्र लागेमा बिमांकसम्म वा तोकिएको सीमासम्म उपचार खर्च प्राप्त हुन्छ ।

दुर्घटनाबाट हुने चोटपटकको उपचार : दुर्घटना उपचारसम्बन्धी सुविधा समावेश भएको अवस्थामा तोकिएको सीमाभित्र उपचार खर्च प्राप्त गर्न सकिन्छ।

आकस्मिक आर्थिक आवश्यकतामा कर्जा : योग्य बिमालेखमा निर्धारित अवधि पूरा भएपछि समर्पण मूल्यको आधारमा नीतिअनुसार कर्जा लिन सकिन्छ।

बिमितको मृत्यु भएमा परिवारलाई आर्थिक सुरक्षा : बिमा अवधिभित्र बिमितको मृत्यु भएमा योजनाका सर्तअनुसार बिमांक तथा सो अवधिसम्म आर्जित बोनस हकवालाले प्राप्त गर्न सक्छन्।

दुर्घटनाबाट मृत्यु भएमा अतिरिक्त सुरक्षा : दुर्घटना मृत्यु लाभ समावेश भएको योजनामा आधारभूत बिमांकको अतिरिक्त रकमसमेत प्राप्त हुन सक्छ। कतिपय योजनामा यस्तो लाभ आधारभूत बिमांकको दोब्बरसम्म हुन सक्छ।

यी सुविधाहरूले एउटा व्यक्तिको अनुपस्थितिमा पनि उसको परिवारको आर्थिक भविष्यलाई सुरक्षित राख्न महत्त्वपूर्ण भूमिका खेल्छन्।

बिमा भनेको जोखिम नपरेको अवस्थामा मात्र फाइदा दिने होइन । एउटा सामान्य उदाहरणबाट बुझौँ।

कुनै व्यक्तिले बीस वर्ष अवधिको जीवन बिमा गरेको छ। उसले नियमित रूपमा प्रिमियम जम्मा गरिरहेको छ। तर बिमा गरेको पाँचौँ वर्षमै ऊ दुर्घटनामा परी स्थायी अशक्त भयो भने के हुन्छ ?

यदि उसको बिमालेखमा अशक्तता प्रिमियम छुट र मासिक अशक्तता भत्ताको सुविधा समावेश छ भने उसले बाँकी अवधिको प्रिमियम तिर्नुपर्ने अवस्थाबाट छुट पाउन सक्छ र निर्धारित अवधिसम्म मासिक आर्थिक सहायता पनि प्राप्त गर्न सक्छ।

अब सोचौँ, उसले जीवन बिमा नगरेको भए यस्तो अवस्थामा उसको परिवारको आर्थिक दायित्व कसले बहन गर्थ्यो ?

त्यसैले जीवन बिमाको मूल्याङ्कन परिपक्वतामा प्राप्त हुने बोनसले मात्र गर्न मिल्दैन। बिमा अवधिभरि उसले प्राप्त गरेको जोखिम सुरक्षा पनि यसको वास्तविक मूल्य हो।

बिमा गरेको व्यक्तिलाई कुनै जोखिम परेन भने उसले सुरक्षा गुमाएको होइन : जोखिम परेन, त्यसैले सुरक्षित रह्यो।

जीवन बिमा : बचत र अवकाशपछिको आर्थिक आधार : जीवन बिमाको महत्त्व जोखिम बहनमा मात्र सीमित छैन।

यदि बिमा अवधिभरि बिमित व्यक्तिलाई योजनामा समेटिएका कुनै पनि बीमायोग्य जोखिमहरू परेनन् र उसले बिमा अवधि सफलतापूर्वक पूरा गर्‍यो भने परिपक्वतामा योजनाको प्रावधानअनुसार बिमांक र आर्जित बोनससहित एकमुष्ट रकम प्राप्त गर्न सक्छ।

यो रकमले भविष्यको आर्थिक योजनामा महत्त्वपूर्ण योगदान पुर्‍याउन सक्छ । विशेषगरी अवकाशपछिको जीवनयापनका लागि आर्थिक आधार तयार गर्न, छोराछोरीको उच्च शिक्षा तथा विवाहजस्ता जिम्मेवारी पूरा गर्न, घरायसी तथा अन्य दीर्घकालीन आर्थिक आवश्यकता सम्बोधन गर्न, बुढ्यौलीमा अरूमाथिको आर्थिक निर्भरता कम गर्न, भविष्यका लागि अनुशासित बचत निर्माण गर्न।

यस अर्थमा जीवन बिमा जोखिम सुरक्षा र दीर्घकालीन बचतलाई एकै ठाउँमा जोड्ने वित्तीय साधन पनि हो । बोनस कम भयो भन्दैमा बिमा अनुपयोगी भयो भन्न मिल्दैन । हामीले एउटा कुरा बुझ्न जरुरी छ– जीवन बिमामा प्राप्त हुने बोनस र बिमाले प्रदान गर्ने जोखिम सुरक्षा दुई फरक विषय हुन्।

बोनसको दर बिमा कम्पनीको वास्तविक वित्तीय अवस्था, लगानीको प्रतिफल, दाबी तथा अन्य बीमाङ्कीय मूल्याङ्कनका आधारमा निर्धारण हुन्छ। त्यसैले भविष्यमा प्राप्त हुने बोनस सधैँ एउटै दरमा हुन्छ वा पहिले देखाइएको अनुमानित रकम नै निश्चित रूपमा प्राप्त हुन्छ भन्ने हुँदैन।

बिमा खरिद गर्दा बोनसको अनुमानित विवरणलाई सुनिश्चित प्रतिफलका रूपमा बुझ्नु हुँदैन। आफ्नो बिमा योजनाको वास्तविक सुविधा, जोखिम कभर, शुल्क, अवधि र सर्तहरू बुझ्नु आवश्यक हुन्छ।

कुनै बिमालेखमा बोनस अपेक्षाभन्दा कम आयो भन्दैमा त्यस अवधिभरि प्राप्त गरेको जोखिम सुरक्षाको महत्त्व समाप्त हुँदैन।

बिमाको वास्तविक मूल्याङ्कन गर्दा दुईवटा पक्षलाई सँगसँगै हेर्नुपर्छ :

पहिलो, बिमा अवधिभरि प्राप्त गरेको आर्थिक सुरक्षा र जोखिम बहन।

दोस्रो, बिमा अवधि पूरा भएपछि प्राप्त हुने बचत, बिमांक र बोनस।

जीवन बिमा र अन्य लगानीबीचको मूलभूत भिन्नता

बचत, सेयर बजार, घरजग्गा, बैंक निक्षेप वा अन्य लगानीका आ–आफ्नै विशेषता र महत्त्व छन्। तर जीवन बिमाको विशिष्टता के हो भने यसले निश्चित बिमा शुल्कको बदलामा ठूलो आर्थिक जोखिम हस्तान्तरण गर्ने व्यवस्था प्रदान गर्छ।

उदाहरणका लागि, कुनै व्यक्तिले निश्चित रकम बैंकमा बचत गरेको छ भने उसको असामयिक मृत्यु वा अशक्तताका कारण परिवारलाई आइपर्ने आर्थिक दायित्व बैंकको बचतले मात्र पर्याप्त रूपमा सम्बोधन गर्न नसक्न सक्छ।

तर पर्याप्त बिमांकको जीवन बिमा गरेको छ भने बिमालेखमा समावेश सुविधा र सर्तअनुसार तुलनात्मक रूपमा ठूलो आर्थिक सुरक्षा प्राप्त हुन सक्छ।

त्यसैले अन्य लगानीले जीवन बिमाको सम्पूर्ण जोखिम बहन गर्ने भूमिकालाई प्रतिस्थापन गर्न सक्दैन। त्यस्तै जीवन बिमाले पनि अन्य सबै लगानीको भूमिका प्रतिस्थापन गर्दैन।

यी एकअर्काका प्रतिस्पर्धीभन्दा पनि व्यक्तिको समग्र वित्तीय योजनाका परिपूरक साधन हुन् ।

जीवन बिमाबारे सकारात्मक सोच र जिम्मेवार नागरिकको भूमिका

जीवन बिमा कुनै एक व्यक्ति, अभिकर्ता वा बिमा कम्पनीको व्यावसायिक स्वार्थसँग मात्र जोडिएको विषय होइन। यो समग्र परिवार, समाज र राष्ट्रको आर्थिक सुरक्षासँग सम्बन्धित विषय हो।

त्यसैले जीवन बिमाको वास्तविक महत्त्व नबुझी अधुरो सूचना, व्यक्तिगत असन्तुष्टि वा अपुष्ट धारणाका आधारमा नकारात्मक अफवाह फैलाउनु जिम्मेवार नागरिकको व्यवहार हुन सक्दैन।

यसको अर्थ बिमा कम्पनीका कमजोरी, गलत बिक्री अभ्यास, दाबी भुक्तानीमा हुने ढिलाइ वा बिमितका वास्तविक गुनासाहरूलाई बेवास्ता गर्नुपर्छ भन्ने कदापि होइन। जहाँ गल्ती भएको छ, त्यहाँ प्रश्न उठाउनुपर्छ, प्रमाणका आधारमा आवाज उठाउनुपर्छ र सम्बन्धित निकायबाट उचित समाधान खोज्नुपर्छ।

तर कुनै एउटा घटना, एउटा बिमालेख वा एउटा व्यक्तिको अनुभवलाई आधार बनाएर सम्पूर्ण जीवन बिमा क्षेत्रप्रति नै नकारात्मक धारणा फैलाउनु उचित हुँदैन।

सचेत नागरिकले आफू पनि बिमाबारे सही जानकारी लिनुपर्छ र अरूलाई पनि सही सूचना दिनुपर्छ। बिमा कम्पनी, अभिकर्ता र नियामक निकाय सबैले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्छ।

बिमाप्रति जनविश्वास बढाउनु हामी सबैको साझा जिम्मेवारी हो।

निष्कर्ष : बोनसभन्दा पहिले सुरक्षा बुझौँ

जीवन बिमा गर्नु भनेको मृत्युको प्रतीक्षा गर्नु होइन, जीवन रहँदै आफ्नो र आफ्नो परिवारको आर्थिक भविष्य सुरक्षित गर्ने दूरदर्शी निर्णय गर्नु हो।

हामीले जीवन बिमा गर्दा केवल कति प्रिमियम तिर्ने र परिपक्वतामा कति बोनस प्राप्त गर्ने भन्ने मात्र सोच्यौँ भने बिमाको वास्तविक उद्देश्य बुझ्न सक्दैनौँ।

जीवन बिमाले जीवनमा आइपर्न सक्ने अनिश्चितताविरुद्ध आर्थिक सुरक्षा दिन्छ, परिवारको भविष्यलाई सुरक्षित राख्न सहयोग गर्छ र जोखिम नपरेको अवस्थामा दीर्घकालीन बचत तथा अवकाशपछिको आर्थिक आधार निर्माण गर्नसमेत मद्दत गर्छ।

त्यसैले जीवन बिमालाई केवल प्रतिफलको चस्माबाट होइन, आर्थिक सुरक्षा, पारिवारिक जिम्मेवारी र भविष्यको आर्थिक योजनाको दृष्टिकोणबाट हेर्न आवश्यक छ।

हामी सबैले जीवन बिमाको महत्त्वलाई सही रूपमा बुझौँ, यसको वास्तविक उद्देश्यबारे आफू सचेत बनौँ र अरूलाई पनि सचेत गराऔँ। अपुष्ट सूचना र नकारात्मक अफवाहको पछि लाग्नुको सट्टा तथ्य, प्रमाण र सही जानकारीका आधारमा धारणा बनाऔँ।

याद राखौँ, बैंकमा जम्मा भएको पैसाले हाम्रो बचत देखाउँछ, तर जीवन बिमाले हाम्रो अनुपस्थितिमा पनि परिवारको आर्थिक भविष्यप्रतिको जिम्मेवारीलाई निरन्तरता दिने आधार तयार गर्छ।

जीवन बिमा प्रतिफल प्राप्त गर्ने माध्यम मात्र होइन, जीवनका अनिश्चिततासँग लड्ने आर्थिक शक्ति हो।

लेखक जीवन बिमा क्षेत्रमा एक दशकभन्दा लामो समयदेखि क्रियाशिल हुनुहुन्छ । 

सम्बन्धित समाचार