झापा गोल्ड कप : मछिन्द्रसामु त्रिभुवन आर्मी निरीह
बिर्तामोड । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी सातौँ झापा गोल्डकपको आज भएको अन्तिम सेमिफाइनल खेलमा मछिन्द्र फुटबल क्लबको सामु विभागीय टीम त्रिभुवन आर्मी फुटबल क्लब निरीह बनेको छ । त्रिभुवन आर्मीलाई ४–० गोल अन्तरले हराउँदै मछिन्द्रले फाइनलका लागि सिट पक्का गरेको हो ।
विदेशी खेलाडी चम्किँदा मछिन्द्र फुटबल क्लबले चारपटकको झापा गोल्डकप विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गर्ने सफल भयो । मछिन्द्रका स्ट्राइकरसमेत रहेका विदेशी खेलाडी जोनाथन जोरिल्लाको ह्याट्रिक मद्दतमा मछिन्द्र फाइनल प्रवेश गरेको छ । मछिन्द्रले उपाधिका लागि सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
मछिन्द्रले खेलको चौथो मिनेटमै अग्रता लियो । मछिन्द्रका लागि जोनाथन जोरिल्लाले गोल गरे । अयोला हमजातको क्रस पासमा डिबक्समा अनमार्क रहेका जोरिल्लाले वान टचमा गोल गरेका थिए ।
खेलको २४औँ मिनेटमा मछिन्द्रले पेनाल्टी पायो । जोरिल्लाको फ्रिकिक प्रहारमा आर्मीका खेलाडीको डिबक्समा ह्यान्डबल भएपछि मछिन्द्रले पेनाल्टी पाएको थियो । उनै जोरिल्लाले पेनाल्टीलाई सदुपयोग गर्दै अग्रता दोब्बर बनाए ।
पहिलो हाफ २–० को बराबरी भएपछि दोस्रो हाफमा आर्मी दबाबमा परेको थियो । मछिन्द्रले खेलको ५२औँ मिनेटमा अर्को गोल थपेर खेलमा जित सुनिश्चित गरेको थियो । आर्मीका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई प्रदिप बुढाथोकीले डिबक्समा पास मिलाइदिएका थिए । सो बललाई जोरिल्लाले पोष्टको दिशा दिएका थिए ।
खेलको अतिरिक्त समयमा मछिन्द्रका सब्सिच्युट खेलाडी रेजिन सुब्बाले एक गोल थपे । मैदानको मध्यभागमा पाएको बललाई आर्मीका दुई डिफेन्डरलाई बिट गरेर एकल प्रयासमा उनले गोल गरेका थिए ।