२०८३ जेष्ठ १८ गते , सोमबार
मेचीनगरमा प्लाई फ्याक्ट्रीको मजदुरको कुटाइबाट स्थानीयको मृत्यु
बिर्तामोड । झापाको मेचीनगरमा प्लाई फ्याक्ट्रीका कामदारको कुटाइबाट एक जना स्थानीयको मृत्यु भएको छ ।
मेचीनगर –१५ निलकोठीमा रहेको माँ पाथीभारा प्लाई फ्याक्ट्रीमा काम गर्ने कामदार तनहुँ दमौली घर बताउने ३५ वर्षीय रामबहादुर गौतमको कुटाइबाट मेचीनगर १५ बस्ने ५५ वर्षीय रुद्र श्रेष्ठको मृत्यु भएको हो । गएराति १० बजे श्रेष्ठ र गौतमबिच सामान्य विषयमा भनाभन भएको थियो । त्यसक्रममा गौतमले कुटपिट गर्दा श्रेष्ठको टाउकोमा चोट लागेको थियो ।
गम्भीर घाइते श्रेष्ठलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएकोमा आज बिहान ८ बजे डाक्टरले मृत घोषणा गरेका थिए । कुटपिट गर्ने गौतमलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुमन बानियाँले जानकारी दिएका छन् ।