करोडौंको टी टेस्टिङ सेन्टर कोठामा सीमित, भवन निजी होटललाई भाडामा
बिर्तामोड । करोडौँको लगानीमा चियाको स्वाद, गुणस्तर जाँच र बाली संरक्षण गर्ने उद्देश्यका साथ निर्माण गरिएको टि टेस्टिङ सेन्टर कोठामा सिमित बनेको पाइएको छ । इलामको सूर्योदय नगरपालिकास्थित कन्याममा चिया अनुसन्धान तथा प्रबर्धन केन्द्र (टी–टेस्टिङ एन्ड प्रोमोसन सेन्टर) करोडौँको लगानीमा राज्यले निर्माण गरेपनि सञ्चालन गर्न नसकेको हो ।
कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाको १८ करोडको संयुक्त लगानीमा निर्माण भएको उक्त भवन २०८१ मंसिर २७ गते कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरेका थिए ।

तर, भवन निर्माणको उद्धेश्य विपरित चिया अनुसन्धान केन्द्र सञ्चालन नगरी निजी कम्पनीलाई लिजमा दिइएको छ । टि टेस्टिङ सेन्टरका लागि भने एउटा कोठा छुट्याइएको छ । नगरपालिकाले भवन निजी कम्पनी उत्तम प्रगतिलाई लिजमा दिएको छ भने सो कम्पनीले चेन होटल ‘वृक्षालय कन्याम’ सञ्चालन शुरु गरेको छ ।
चिया केन्द्र सञ्चालनका लागि दक्ष जनशक्ति र उपकरण अभावको कारण देखाउँदै चालू आर्थिक वर्षदेखि वार्षिक २९ लाख रुपैयाँ भाडा पाउने गरी नगरपालिकाले उक्त कम्पनीलाई १० वर्षका लागि लिजमा दिएको छ । होटेलका सुपरभाइजर सञ्जय प्रधानका अनुसार चार रोपनी जग्गामध्ये तीन रोपनीमा बनेको ‘टी–टेस्टिङ सेन्टर’का पाँचमध्ये चार भवनमा होटेल छ । तर पाँचौँ भवनमा टेस्टिङ सेन्टरका लागि छुट्याइएको भएपनि सो भवनमा रहेको आकर्षक सभाहल कम्पनीले नै प्रयोग गर्ने बुझिएको छ ।

कोशी प्रदेशलाई चिया–कफीको विकासमा अघि बढाउने भन्दै सरकारले सूर्योदय नगरपालिका– ७, कन्याममा ससर्त अनुदानमार्फत उक्त संरचना निर्माण गरेको थियो । सूर्योदय नगरपालिकाका कार्यवाहक मेयर दुर्गाकुमार बरालले उद्देश्यअनुरूप सेन्टर सञ्चालन गर्न ढिलाइ हुने भएकाले भौतिक सम्पत्तिलाई उपयोगमा ल्याएर आम्दानी गर्न लिजमा दिइएको दाबी गरे । कार्यविधिअनुसार नै गेस्ट हाउस, किचन र सेमिनार हल मात्र निजी क्षेत्रलाई उपयोग गर्न दिइएको उनको भनाइ छ ।
‘हामीले टी–टेस्टिङका लागि निर्माण भएको प्रयोगशाला (ल्याब) भवन आफैँसँग राखेका छौँ र सञ्चालनको तयारी गरिरहेका छौँ,’ बरालले दाबी गरे, ‘ल्याब सञ्चालनका लागि प्रदेश योजना आयोग र संघीय सरकारका निकायहरूसँग निरन्तर छलफल भइरहेको छ, चाँडै चिया परीक्षण सेवा पनि सुरु गर्नेछौँ ।’