कनकाई बिर्ता अर्जुन नवीकरणीय उर्जा पुनः सञ्चालनको तयारीमा
बिर्तामोड । झापाको कनकाई नगरपालिका २ सुकेडाँगीमा स्थापना गरिएको फोहोर मैला व्यवस्थापन प्लाण्ट पुनः सञ्चालनको तयारीमा रहेको छ । कनकाई बिर्ता अर्जुन नवीकरणीय उर्जा तथा फोहोर मैला व्यवस्थापन कम्पनी लिमिटेडले निर्माण गरेको फोहोर मैला व्यवस्थापन प्लाण्ट बन्द भएको लामो समयपछि पुनः सञ्चालनको तयारी गरिएको हो ।
फोहोर प्रशोधन गरी बायो ग्यास र कम्पोष्ट मल उत्पादन गरी बिक्री गर्ने उद्धेश्यले पब्लिक कम्पनीको रुपमा विभिन्न व्यक्ति तथा कनकाई, बिर्तामोड र अर्जुनधारा नगरपालिकाको करोडौँ लगानीमा स्थापना गरिएको कम्पनीमार्फत सञ्चालित उक्त प्लाण्ट लामो समयदेखि बन्द रहेको थियो । जेनजी आन्दोलनको क्रममा तोडफोड गरिएका उपकरणको मर्मत पश्चात प्लाण्ट पुनः सञ्चालनको तयारीमा रहेको बताइएको छ ।
‘अबको एक वा दुई हप्ताभित्र पुनः फोहोर संकलन गरी प्लाण्ट सञ्चालनको तयारीमा छौँ,’ बिर्तामोड वडा नम्बर ४ का वडासदस्य समेत रहेका कम्पनी सञ्चालक समिति सदस्य उमेश राउतले भने, ‘डाजेष्टर, सेग्रिगेटर लगायतका उपकरण मर्मतको काम करिब सम्पन्न भएको छ, नगरपालिकाले फोहोर संकलनको कार्यादेश दिने वित्तिकै फोहोर संकलन गरी प्लाण्ट पुनः सञ्चालन गर्नेछौँ ।’ पहिलो चरणमा कनकाई नगरपालिकाको फोहोर संकलन गरिने र क्रमश बिर्तामोड र अर्जुनधाराको फोहोर संकलन गरिने उनले बताए । फोहोर कुहिने र नकुहिने स्रोतमा नै वर्गीकरणका लागि आग्रह गर्ने र वर्गीकरण गरेको फोहोर मात्र संकलन गरिने उनले जानकारी दिए ।
प्लाण्ट सञ्चालनमा आएपछि नगरपालिकाहरुले भोगिरहेको फोहोर फ्याँक्ने ठाउँको समस्या समाधान हुने सञ्चालक सदस्य राउतले बताए । कम्पनीले केहि व्यवसायीहरुबाट सापटी पैसा लिएर मर्मत तथा बैंक व्याज भुक्तानी गरेको उनले बताए । प्लाण्ट सञ्चालनमा आएपछि कम्पनीले भुक्तानी गर्नुपर्ने पारिश्रमिक तथा अन्य दायित्व क्रमशः भुक्तानी गर्दै लगिने उनले बताए ।
२०७६ साल वैशाख ७ गते तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरेको सो प्लाण्ट व्यवस्थापन कमजोरीका कारण निल्नु न ओकल्नु झैँ बनेको थियो । प्लाण्ट सञ्चालनका लागि बिर्तामोड नगरपालिकाले २ करोड ५४ लाख, कनकाई नगरपालिकाले २ करोड ३६ लाख ८३ हजार र अर्जुनधारा नगरपालिकाले २ करोड ३९ लाख रुपैँया लगानी गरेका छन् भने ६५० भन्दा बढी व्यक्तिहरुको समेत लगानी रहेको छ । कम्पनीमा बैकल्पिक उर्जा प्रबर्धन केन्द्रमार्फत विश्व वैंकले ४ करोड ८९ लाख रुपैँया लगानी गरेको छ भने ५० लाख थप रकम दिने प्रतिबद्धता जनाएको छ ।
प्लाण्ट २० कठ्ठा ऐलानी र ३८ कठ्ठा नम्बरी जग्गामा फैलिएको छ ।