संयमता अपनाउन नेकपा झापाको अपिल
झापा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कमिटी झापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा हिन्दु–मुस्लिम समुदायबीच भएको हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनालाई साम्प्रदायिक द्वन्द्वको रूपमा विस्तार हुन नदिन सरकार, राजनीतिक दल तथा सम्पूर्ण नागरिकलाई संयमित हुन आग्रह गरेको छ ।
विज्ञप्तिमा नेपालको असल पहिचान नै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र भ्रातृत्वमा आधारित रहेको उल्लेख गर्दै कुनै पनि धर्म वा समुदायका नाममा हिंसा भड्काउने, सामाजिक सद्भाव बिगार्ने तथा जनधनमा क्षति पुर्याउने गतिविधि अस्वीकार्य र निन्दनीय रहेको जनाइएको छ । विज्ञप्तिमा घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरिएको छ ।
पार्टी जिल्ला संयोजक खड्गबहादुर तिम्सिना (पवन) र इन्चार्ज पुष्प पोखरेलको संयुक्त हस्ताक्षर रहेको विज्ञप्तिमा नेकपा झापाले सरकारसमक्ष घटनाको निष्पक्ष तथा उच्चस्तरीय छानबिन गरी दोषीलाई कानुनबमोजिम कडा कारबाही गर्न, सम्बन्धित पक्षबीच तत्काल वार्ता र संवादमार्फत शान्ति तथा सद्भाव कायम गर्न तथा मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेको छ । त्यसैगरी सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमलाई भ्रामक र उत्तेजक सामग्री प्रकाशन तथा प्रसारण नगर्न आग्रह गर्दै नागरिकलाई पनि अफवाहको पछि नलागि सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न अपिल समेत गरेको छ ।