गोलबजार र राजबिराजमा कर्फ्यु खुकुलो
झापा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजारमा जारी कर्फ्यु आदेश आज साँझसम्मका लागि खुकुलो बनाएको छ ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार सुरक्षा अवस्थाको समीक्षा गर्दै आज बिहान १०:०० बजेदेखि राति ७:०० बजेसम्म कर्फ्यु खुकुलो बनाइएको छ ।
प्रशासनले स्थानीय परिस्थितिको थप मूल्यांकनपछि कर्फ्यु थप खुला गर्ने वा पुनः लागू गर्नेबारे आवश्यक निर्णय गरिने जनाएको छ। साथै, गोलबजार क्षेत्रमा सवारीसाधन सञ्चालनमा सहजीकरण गरिने उल्लेख गर्दै कर्फ्यु खुकुलो भएको अवधिमा पनि ५ जनाभन्दा बढी व्यक्तिको समूहमा भेला नहुन सबैलाई आग्रह गरिएको छ।
सुनसरी घटनापछि उत्पन्न तनावका कारण गोलबजार क्षेत्रमा केही दिनदेखि कर्फ्यु आदेश जारी गरिएको थियो। पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै प्रशासनले दिनको समयमा कर्फ्यु खुकुलो बनाएको जनाएको छ ।
सप्तरी जिल्ला प्रशासन कार्यालय राजबिराजले अत्यावश्यक सामग्री खरिद गर्नका लागि आज बिहान ७ देखि ११ बजेसम्म दैनिक उपभोग्य सामग्री खरिद बिक्री गर्न कर्फ्यु खुकुलो पारेको छ।
तोकिएको समयपछि कर्फ्यू पूर्ण रूपमा पालना गर्न र शान्ति सुरक्षा कायम राख्न प्रशासनले आग्रह गरेको छ ।
यस्तै कार्यालयको अनुमती लिइ सद्वभाव र्याली गर्ने प्रयोजनको लागी कर्फ्यू आदेश केही खुकुलो गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाका अनुसार सो समयावधिभित्र हुलदंगा वा अशान्ति फैलाउन वा अन्य कुनै उदेश्यले एकै ठाउँमा पाँचजना भन्दा बढी मानिस भेला जम्मा भई उछ्शृङ्खल गतिविधि गरे/गराइएको पाइएमा कानून बमोजिम कारबाही हुने जनाएको छ ।
सप्तरीको बोदेबरसाईनमा गत साउन १४ गते राति १० बजेदेखि र राजबिराजमा १५ गते ८ बजेदेखि प्रमुख जिल्ला अधिकारीबाट कर्फ्यूको आदेश जारी गरिएको थियो ।