विश्व क्यान्सर दिवस र मेरो धारणा
आज विश्व क्यान्सर दिवस, हरेक वर्षको फेब्रुअरी ४ मा विश्वभरि मनाइन्छ । विश्व क्यान्सर दिवसको रुपमा मनाइने यस इभेन्टको मुख्य उद्देश्य क्यान्सरको रोकथाम र प्रारम्भिक पहिचानको महत्व बुझाउनु तथा क्यान्सर लागेका मानिसहरूको आत्मबल बढाउन मद्दत गर्नु हो । धेरै जसो मानिसहरूमा क्यान्सर हुने बित्तिकै मृत्युको डर पैदा हुने गर्दछ । जब क्यान्सर लागेको पुष्टि भएको रिपोर्ट हात पर्छ तब बिरामी निराश बन्छ । उपचारको लामो झन्झटिलो प्रक्रिया तथा आर्थिक बोझका कारणले बिरामी लगायत बिरामीका परिवारलाई पनि मानसिक रुपमा ज्यादै नै कठिन अवस्था सिर्जना हुन्छ । मेरो आमालाई २०७३ सालमा स्तन क्यान्सर लागेदेखि नै मैले छ/छ महिनामा मेरो नियमित परीक्षा गराउन सुरु गरेकी थिएँ । वंशाणुगत कारणले पनि क्यान्सर हुन सक्ने बुझेको हुँदा सजगताका लागि यो परीक्षण गराउँदै आएकी थिएँ । तथापि २०७९ सालमा मलाई पनि स्थान स्तन क्यान्सर देखियो । सुरुवाती अवस्थामा पत्ता लागेको हुनाले मेरो उपचार शतप्रतिशत सम्भव भयो । उपचार कष्टपूर्ण भएता पनि करिब छ महिनाको उपचार पश्चात म पूर्ववत अवस्थामा फर्किन सके र अहिले पहिलेको भन्दा सकृय जीवन जिइरहेकी छु ।
हाल क्यान्सर विश्व भरकै ठूलो स्वास्थ्य चुनौती बन्दै गएको छ । तर समयमै पहिचान गरी सही जीवनशैली अपनाएमा यसको प्रभाव धेरै हदसम्म हटाउन सकिन्छ । क्यान्सर भनेको शरीरका कोशिकाहरू अनियन्त्रित रुपमा बढ्दै जानु हो, जसले शरीरका विभिन्न अङ्गहरूमा क्षति पुर्याउँछ । जीवनशैलीका कारण र आनुवांशिक कारणले क्यान्सर हुने गर्दछ । यीमध्ये जीवनशैलीमा हाम्रा दैनिक आनी बानी, धुम्रपान, मदिरा सेवन, अस्वस्थ खानपान, शारीरिक निष्क्रियता, प्रदूषण र तनाव मुख्य कारक मानिन्छन् । स्वास्थ्य जीवनशैली अपनाएको खण्डमा क्यान्सर लाग्नबाट धेरै हदसम्म बच्न सकिन्छ । बिहान सबेरै उठ्ने, बेलुका छिटै सुत्ने, न्यूनतम ७ घण्टा आरामले सुत्ने, पानी प्रशस्त पिउने, फलफुल सलाद र अर्गानिक खानेकुरा सेवन गर्ने, योग व्यायाम वा शारीरिक परिश्रम गर्ने, धुम्रपान, मदिराबाट टाढा रहने र समय समयमा स्वास्थ्य परीक्षण गराउनु क्यान्सर रोगका प्रभावकारी उपायहरु हुन् । महिलामा स्तन र पाठेघरको क्यान्सर तथा पुरुषमा प्रोस्टेट क्यान्सरको नियमित परीक्षण गर्नाले प्रारम्भिक अवस्थामा नै रोग पत्ता लगाउन सकिन्छ । प्रारम्भिक अवस्थामा रोग पत्ता लागेमा उपचार सफल हुने सम्भावना धेरै हुन्छ ।
परिवारका कुनै सदस्यहरूलाई क्यान्सर भएमा अनुवांशिक कारण हो कि होइन भने यकिन गर्न बीआरसीए टेस्ट गर्नु बुद्धिमानी हुन्छ । यसले आनुवांशिक कारणले हो कि होइन भन्ने प्रस्ट्याउँछ । यदि बिरामीमा आनुवांशिक कारणले रोग लागेको पाइएमा सन्तानले पनि क्यान्सर अस्पताल गई परिक्षण गराउनु र चिकित्सकको परामर्श लिनुपर्ने हुन्छ । परिवारमा क्यान्सर रोग नलागेको तर आफूलाई विभिन्न स्वास्थ्य समस्या भएमा फिजिसियनलाई देखाउने र आफ्ना समस्याहरू खुलेर भन्नुपर्छ । फिजिसियनले आवश्यकता अनुसार अन्य विधाका चिकित्सकहरूको परामर्श लिन वा परीक्षणहरू गर्न सल्लाह दिन्छन् । स्वास्थ्यमा कुनै समस्या नदेखेमा पनि ४०–४५ वर्षपछि छ/छ महिनामा स्वास्थ्य परीक्षण गराउनु बुद्धिमानी हुन्छ ।
तसर्थ क्यान्सर रोग लाग्नबाट बच्ने उपायहरू अवलम्बन गर्नुपर्दछ । यदि रोग लागि हालेमा नआत्तिइकन चिकित्सकको परामर्शलाई शतप्रतिशत पालना गरी उपचारमा जानुपर्दछ । यो रोगको उपचारपछि पहिले गर्न नसकेका काम समेत गर्न सकिन्छ । नयाँ जीवन बाँच्न सकिन्छ । देशमा जुन संख्यामा क्यान्सर रोगीहरू छन् त्यो अनुपातमा क्यान्सर अस्पताल नहुँदा बिरामीहरूलाई उपचारमा कठिनाइ छ । त्यसकारणले सरकारले कम्तीमा सातवटै प्रदेशमा सुविधा सम्पन्न क्यान्सर अस्पताल स्थापना गरोस् र सरकारले क्यान्सर विरामीलाई दिने सहुलियत सहज तरिकाले पाउन सक्ने वातावरण बनोस । म जस्ता लाखौ क्यान्सर पिडीतहरुलाई उपचारको क्रममा अनावश्यक झन्झट बेहोर्नु नपरोस ।
अन्ततः क्यान्सर विरुद्धको लडाइँ केवल चिकित्सक र बिरामीको मात्र होइन, अभिभावक, समाज र राज्य सबैको साझा दायित्व हो । अभिभावकले आफ्ना सन्तानको स्वास्थ्यप्रति सजग भई समयमै परीक्षण गराउने, स्वस्थ जीवनशैली सिकाउने र मानसिक रूपमा सशक्त बनाउने भूमिका खेल्नुपर्छ । समाजले क्यान्सरलाई मृत्युको डर होइन, उपचार सम्भव रोगका रूपमा बुझी बिरामीप्रति सहानुभूति, सहयोग र सकारात्मक दृष्टिकोण विकास गर्नुपर्छ । आजको सचेत अभिभावक, जिम्मेवार समाज र संवेदनशील राज्य मिलेर मात्रै क्यान्सर मुक्त, सुरक्षित र आशावादी भविष्य निर्माण गर्न सक्छौँ । आजको सचेतना नै भोलिको सुरक्षित जीवन हो ।
लेखक प्रतिमा चापागाईं आदर्श मावि धुलाबारीकी शिक्षक र एम्नेष्टि इन्टरनेशनलकी केन्द्रीय सदस्य हुनुहुन्छ ।