२०८३ मंसीर ८ गते , मंगलबार

सरकारी सभा–समारोहमा प्लाष्टिक प्रयोग रोक्न कोशी सरकारलाई उच्च अदालतको परमादेश

sajilo news
परिवेश मिडिया
२०८३ मंसीर ८ गते , मंगलबार
सरकारी सभा–समारोहमा प्लाष्टिक प्रयोग रोक्न कोशी सरकारलाई उच्च अदालतको परमादेश

विराटनगर । उच्च अदालत विराटनगरले सरकारी निकायबाट आयोजना हुने सभा, सम्मेलन, सेमिनार तथा गोष्ठीजस्ता कार्यक्रमहरूमा प्लाष्टिकजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गरी उपलब्ध विकल्पहरूको प्रयोग गर्न–गराउन कोशी प्रदेश सरकारका नाममा परमादेशको आदेश जारी गरेको छ ।
अदालतको इजलास नं. ४ ले यही मंसिर ४ गते अन्तिम आदेश जारी गर्दै प्लाष्टिकजन्य पदार्थको प्रयोग न्यूनीकरणसम्बन्धी आवश्यक ऐन, नियम, नीति तथा कार्यक्रमको निर्माण, प्रयोग वा कार्यान्वयन पर्याप्त नभएको भए सोतर्फ उच्च प्राथमिकता दिई निर्माण गरेर लागू गर्न–गराउन विपक्षीहरूको नाममा परमादेश जारी गरेको हो । विराटनगर महानगरपालिका–४ का अधिवक्ता प्रमिल अधिकारीले कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्री, प्रमुख सचिव र पर्यटन, वन तथा वातावरण मन्त्रालय तथा मन्त्रीलाई विपक्षी बनाई दायर गरेको उत्प्रेषणयुक्त परमादेशको रिटमा अदालतले यस्तो आदेश दिएको हो ।
निवेदकले उठाएका विषय मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने विषयसँग सम्बन्धित रहेको अदालतले ठहर गरेको छ । विपक्षी प्रदेश सरकारका तर्फबाट पेस गरिएको लिखित जवाफमा समेत ऐन, नियमावली, नीति तथा कार्यक्रम तर्जुमा गरी प्लाष्टिकजन्य पदार्थको प्रयोग न्यूनीकरण गर्नतर्फ अग्रसर रहेको उल्लेख पाइएको आदेशमा जनाइएको छ ।
नेपालको संविधान, वातावरण संरक्षणसम्बन्धी संघीय तथा प्रदेश कानुन र अन्तर्राष्ट्रिय महासन्धि, अनुबन्ध तथा घोषणाहरूबाट मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने प्लाष्टिकजन्य वस्तुको प्रयोग न्यूनीकरण गर्दै अन्ततोगत्वा प्रयोग नै नगर्ने प्रतिबद्धता पटक–पटक भइसकेकाले उपर्युक्त आदेश जारी गर्नुपर्ने देखिएको अदालतको ठहर छ । 
अधिवक्ता अधिकारीले २०८२ जेठ २६ गते सरकारी कामकाजमा वातावरण प्रदूषण गर्ने फ्लेक्स ब्यानर, फ्लेक्सबाट बनेका प्रचार सामग्री र प्लाष्टिकजन्य वस्तुको प्रयोग अन्त्य गरी वातावरणमैत्री वस्तुको प्रयोग गर्न–गराउन माग गर्दै रिट दायर गरेका थिए । कोशी प्रदेश मन्त्रिपरिषद्को २०८१ चैत २९ गतेको निर्णय नं. ४ ले ‘कोशी पर्यटन वर्ष २०८२’ मनाउन प्रचारप्रसार सामग्रीमा लोगो, नारा र मस्कट राख्न पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई अनुरोध गरेको थियो ।
सोही सन्दर्भमा मन्त्रालयले आयोजना गरेका कार्यक्रमहरूमा फ्लेक्स ब्यानर र प्लाष्टिकका बोतल प्रयोग गरिएको पाइएको र लिखित सूचना माग गर्दा पर्यटन वर्षमा मात्र नभई सबै कार्यक्रममा फ्लेक्स ब्यानर तथा प्लाष्टिकका बोतल प्रयोग हुँदै आएको लिखित जानकारी प्राप्त भएपछि अधिकारी अदालत पुगेका थिए । उनले मन्त्रिपरिषद्को उक्त निर्णय संशोधन गरी प्रदेश सरकार र मातहतका निकायबाट सञ्चालन हुने कुनै पनि कार्यक्रममा फ्लेक्स ब्यानर, प्लाष्टिकका बोतल, प्लाष्टिकका फूल तथा प्लाष्टिक र आलुमिनियमको प्याकेजिङ प्रयोगमा रोक लगाउन माग गरेका थिए ।
निवेदनमा सरकारी सभा–गोष्ठीमा कपडाको ब्यानरको सट्टा पोलिभिनाइल क्लोराइड (पीभीसी) र पोलिएस्टर फ्याब्रिकबाट बनेका फ्लेक्स ब्यानरको प्रयोग बढ्दा वातावरणीय जोखिम चुलिएको उल्लेख गरिएको थियो । विभिन्न अध्ययनअनुसार फ्लेक्स ब्यानर नष्ट हुन करिब ४५० वर्ष लाग्ने र प्लाष्टिकजन्य पदार्थबाट निस्कने बिस्फेनोल ए (बीपीए), थ्यालेट्स र डायोक्सिनजस्ता रसायनले हर्मोन असन्तुलन, प्रजनन क्षमतामा कमी, क्यान्सर, दम, छालाको रोग तथा बालबालिकाको मानसिक विकासमा नकारात्मक असर पार्ने जिकिर रिटमा गरिएको थियो । साथै, प्लाष्टिकको प्रयोगले माटोको उत्पादकत्व घट्ने, पानीको मुहान प्रदूषित हुने र पृथ्वीको तापक्रम बढ्न मद्दत पुग्ने तर्क निवेदकले पेस गरेका थिए ।
निवेदकले नेपालको संविधानको धारा ३० (स्वच्छ वातावरणको हक), धारा ३५ (स्वास्थ्यसम्बन्धी हक) र धारा ४४ (उपभोक्ताको हक) को कार्यान्वयनका लागि उच्च अदालतको विशेष अधिकार क्षेत्र (धारा १४४) प्रयोग गर्न अनुरोध गरेका थिए ।

 

सम्बन्धित समाचार