२०८३ मंसीर १० गते , विहीबार
कोशीमा आंशिक बदली, देशभरको मौसम मुख्यतया सफा
विराटनगर । आज दिउँसो र राति कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेकाले कोशीको तराई क्षेत्रसहित देशका अधिकांश भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ ।
महाशाखाले आज दिउँसो कोशीसँगै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने जनाएको छ । रातिको समयमा भने कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रबाहेक देशका अन्य सबै भागमा मौसम सफा रहने पूर्वानुमान छ ।
हाल बाँके, दाङलगायत तराईका अधिकांश स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ भने देशका बाँकी भागमा मौसम सफा रहेको छ । यसैगरी, भोलि बिहान उपत्यका र खोँचका साथै तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।