नागरिकता पाउने र विवाह गर्ने उमेर समान हुनु अव्यवहारिक : प्रवक्ता पौडेल
धुलाबारी । झापा राष्ट्रिय महिला आयोगका प्रवक्ता कृष्णकुमारी पौडेलले गर्भदेखि नै छोरीको सुरक्षाको प्रत्याभूति हुनु पर्नेमा जोड दिएकिछन्। ३५ औं लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर झापाको धुलाबारी माविमा आयोजित कार्यक्रममा पौडेलले एउटी छोरीको आँसु पुछ्न नसक्ने समाज सभ्य समाज हुन नसक्ने बताइन् ।
केही व्यक्तिले नागरिकता पाउने र विवाह गर्ने उमेर समान हुँदा हुने तर्क गरिरहेको भन्दै असहमति जनाइन् । "नागरिकता पाउने र विवाह गर्ने उमेर समान हुनुपर्छ भन्ने तर्क अव्यवहारिक र असान्दर्भिक छ" उनले भनिन्, " नागरिकता पाउनु नैसर्गिक अधिकार हो, तर विवाह मानसिक र शारीरिक अधिकार हो ।" प्रवक्ता पौडेलले चेतना अत्यन्त कमजोर भएको समाजले छोरीलाई सुरक्षा सुनिश्चित गर्न नसक्ने जोड दिँदै उनले समाजको चेतनास्तर वृद्धि जरुरी भएको बताइन् ।
वातावरण मैत्री क्लब धुलाबारी माविको आयोजनामा भएको प्रभातफेरि पछि आयोजित सचेतना कार्यक्रममा धारणा राख्दै हिंसाका घटनाको प्रतीक्षा गर्ने समय पर्खने होइन, अन्त्य हुनु पर्नेमा जोड दिएकी पौडेलले महिला कहाँ सुरक्षित छन् ? भन्ने प्रश्न अब उठ्न नहुनेमा जोड दिइन् ।
इलाका प्रहरी कार्यालय धुलाबारीका नायब निरीक्षक सुवास थापाले साइबर अपराध न्यूनीकरण सम्बन्धी सचेतना र जानकारीमुलक प्रशिक्षण दिएको कार्यक्रममा धुलाबारी माविका विभिन्न क्लब आबद्ध सयौं विद्यार्थी सहभागी थिए । उनीहरूले महिला तथा लैंगिक हिंसा र त्यसबाट बच्ने उपायका बारेमा जिज्ञासा राखेका थिए ।
वातावरण मैत्री क्लब धुलाबारी मावि अध्यक्ष उपासना आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका निमित्त प्रधानाध्यापक दीपेन्द्र कन्दङ्वा, शिक्षक रमेशकुमार दाहालले धारणा राखेका थिए । कार्यक्रममा बितेको आर्थिक वर्षमा घरेलु हिंसामा परी १६९ जना महिलाले ज्यान गुमाएको जानकारी दिइयो । त्यसमध्ये १६ जना कोशी प्रदेशका रहेको जनाइएको छ ।
मंसिर ९ देखि सुरु भएको अभियान २४ गतेसम्म चल्नेछ ।